होमपेज / अर्थ
काठमाडौं । बिहीबार शेयर बजारमा ठूलो गिरावट आएको छ । साताको अन्तिम कारोबार दिनमा नेप्से ७६.७८ अंकले घटेको हो। यसअघि बजारले २७९५ बिन्दूसम्म झरेको थियो । तर कारोबारको अन्तिम एक घण्टामा भने बजारमा केही सुधार आइ २८१२.२६ अंकमा बन्द भएको हो ।
भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ । बिहीबार कुल २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबारबाट १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ ।
बैंकहरुले निक्षेप तथा कर्जामा असोज १ देखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सेयर बजारमा ठूलो असर देखिएको हो। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटे। यस दिन २ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ।
मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ कायम भएको छ। सोबाहेक अरु बढ्ने कम्पनीको मूल्य वृद्धिदर २ प्रतिशतमुनि नै रह्यो। हाम्रो सेयर बजारका लागि सबैभन्दा समस्याको विषय भनेकै नीतिगत अस्थिरता हो । यहाँ ३ महिना पनि नटिक्ने नीति ल्याइन्छ । अझै नीति निर्माताहरुले चलखेल गर्ने गरेको आरोपहरु समेत लाग्ने गरेको छ । कतिपय अवस्थामा ती आरोपहरु सत्य साबित पनि भएका छन् ।