होमपेज / अर्थ
काठमाडौं । नयाँ आर्थिक वर्षको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा एक महिना पछि नेप्से ३००० अंकको बिन्दु नजिक पुगेर बन्द भएको छ ।
घिल्लो दिन आइतबार ९७ अंक भन्दा बढीले बढेको सेयर बजारमा सोमबार पनि दोहोरो अंकले नै वृद्धि भएको छ । अल्पकालीन कारोबारीले छिटोछिटो नाफा बुक गर्ने भएकाले बजार केही प्रभावित हुन खोजे पनि बन्द हुँदा दोहोरो अंकले नै वृद्धि भएको छ । यस आधारमा बजार पर्याप्तमात्रामा क्रेताहरु रहेको अनुमान गर्न सकिन्छ ।
यस दिन मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोडको कारोबार भयो। त्यस्तै अरुण भ्याली, एनआइसी एसिया बैंक र कामना सेवा विकास बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
बजार परिसूचक सँगै कारोबार रकम पनि बढ्दै गएको छ । आइतबार साढे ११ अर्ब माथिको कारोबार भएको नेप्सेमा आज ११ अर्ब ८१ करोड पुगेको छ । नेप्सेमा आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५५ हजारको कारोबार भएको छ ।