होमपेज / अर्थ
काठमाडौं : साताको अन्तिम दिन बिहीबार सेयर बजार सकारात्मक देखिएको छ । सूचक दोहोरो अंकले बढ्दा खरिदबिक्री रकममा सुधार भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसू्चक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यो साताको सुरुवाती चार दिन लगातार घटेको नेप्से अन्तिम कारोबार दिन २३.७६ अंकले वृद्धि हुँदा २८२४.८९ अंकमा बन्द भएको छ ।
सुस्त गतिमा भए पनि नेप्सेको औसत यात्रा माथितिरै हुने अपेक्षा गर्न सकिन्छ । तर केन्द्रीय बैंकले लिने नीतिमा स्पष्टता नहुँदासम्म आम लगानीकर्ताले अपेक्षा गरेअनुसार वृद्धि नहुन पनि सक्ने केहीको भनाई छ ।
बुधबार ४ अर्ब ५८ करोडको कारोबार भएको बजारमा आज १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजारको कारोबार भएको छ । आज नेप्सेमा कारोबारमा आएका १८३ कम्पनी मध्ये १५९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २० कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै, चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।