होमपेज / अर्थ
काठमाडौं हप्ता दिनसम्म भारी अंक घट्दै शेयरबजार राताम्मे बन्दा आत्तिएका लगानीकर्ता मंगलबारको बजारको दिशाले उत्साहित बनेका छन् । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीकोे सूची सार्वजनिक गरेपछि निरन्तर घटेको बजार मंगलबार पुनः सम्हालिएको हो ।
गत साताको सोमबार (जेठ ३१) गते ३०२५.८३ अंकको ऐतिहासिक बिन्दुमा पुगेर घट्न सुरु भएको सेयर बजार एक सातासम्म लगातार घटेको थियो । मंगलबार कारोबार सुरु भएसँगै बढेको नेप्से अन्तिम समयसम्म बढिरह्यो । जसले गर्दा २८ सय हाराहारीमा पुगेको नेप्से पुनः २९ सयको विन्दुमा पुगेको छ । आज शेयरबजार परिसूचक नेप्से ७९ दशमलव ४३ अंकले बढेर २९१३ दशमलव ८४ अंकमा बन्द हुँदा १० अर्ब २८ करोड ६ लाख ९९ हजार ५७ रुपैयाँको शेयर किनबेच भयो ।
सोमबार २८३४.४१ अंकमा बन्द भएको नेप्से मंगलबार ‘इन्ट्रा–डे’ कारोबारमा २८२४.०४ अंकसम्म झरेको थियो भने २९१४.४३ अंकको उच्च बिन्दु कायम गर्यो ।सूचीकृत अधिकांश कम्पनीको सेयर भाउ बढेको छ । मंगलबार नेप्सेमा सूचीकृत ३३ कम्पनीको भाउ ९% भन्दा धेरैले बढेको छ । ३३ मध्ये ५ कम्पनीको भाउ १०% ले वृद्धि भएको छ । मंगलबार ९% भन्दा माथि सेयर भाउ बढ्ने कम्पनीमध्ये १४ वटा धितोपत्र बोर्डको जोखिमयुक्त सूचीमा परेका कम्पनीहरु पनि देखिएका छन् । बोर्डले यिनै कम्पनीहरुको सूची सार्वजनिक गर्दा बजार घटेको थियो । बजार पुनः सुधार हुँदा जोखिमयुक्त भनिएका कम्पनीहरुको भाउमै उच्च वृद्धि देखिएको छ ।
आज कारोबार भएकोमध्ये गोर्खाज फाइनान्स, रुरु जलविद्युत कम्पनी, आरम्भ चौतारी लघुवित्त, नेरुडे ललघुवित्, सूृर्योदय लघुवित्त र सबैको लघुवित्तको सेयर मूल्य भने सामान्य घटेको छ ।