होमपेज / अर्थ
काठमाडौं : सेयर बजारमा खुशीयाली छाएको छ ।नेप्से परिसूचक ५३.४४ अंकले बढ्दै २९६०.१४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । गत आइतबार नेप्से परिसूचक २९०६.८९ विन्दुमा पुगेको थियो ।
दैनिकजसो नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेले पहिलोपटक २९६० अंक पार गर्दै तीन हजारको विन्दुलाई पच्छ्याएको छ ।आइतबार २९०६.९१ अंकमा पुगेर बन्द हुँदा हिजो सोमबार भने ०.२१ अंकको सामान्य करेक्सन आएको थियो ।
विशेषगरी फाइनान्स, विकास बैंक र बिमा कम्पनीहरुमा तेजी देखिएको छ । दर्जनौं कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । आज फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल आउँदा नेप्से परिसूचक उच्च विन्दुमा पुगेको हो । विकास बैंक समूहको सेयर मूल्य ९ .०४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ८.७१ प्रतिशतले बढ्यो ।
यसदिन सातवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो भने २९ कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढी बढ्यो ।
यसदिन कारोबार पनि उच्च नै रह्यो । २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएका छन् ।