होमपेज / अर्थ
काठमाडौँ– सेयर बजारमा उचतारचढावबीच नेप्सेमा ०.२१ अंकको सामान्य करेक्नस भएको छ ।नेप्से सूचक निकै झिनो विन्दुले घट्दा खरिदबिक्री रकम भने औसतमा राम्रो रहेको छ । अघिल्लो दिन आइतबार बेस्सरी बढेको बजार सोमबार भने सामान्य देखिएको हो । सोमबार १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा नेप्से सूचक भने ०.२१ अंकले मात्र घटेर २९०६.७० विन्दुमा अडिएको छ ।
आइतबार अहिलेसम्मकै उच्च २७ अर्ब २७ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम पनि केही घटेको छ । आज नेप्सेमा ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजारको कारोबार भएको छ ।
फाइनान्सतर्फ केही कम्पनीको भाउ सर्किट लाग्ने गरी मूल्य बढेको छ । नेप्सेमा कारोबार भएका १३ मध्ये ७ वटा समूहका सूचक वृद्धि भएका छन् । १७ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । बजार बढ्दा होस् या घट्दा, आम लगानीकर्तामा धैर्यता र अनुशासन आवश्यक हुन्छ । सेयर बजारमा माग तथा आपूर्ति अनि नाफा बुकिङ प्रवृत्तिले प्रभाव पारिरहेको हुन्छ ।
बजार परिसूचक सँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्न सेन्सिटिभ इन्डेक्समा पनि करेक्सन भएको छ । सेन्सिटिभ इन्डेक्स ०.३८ अंकले घटेर ५२०.६३ अंकमा बन्द भएको छ ।