ट्रेण्डिङ

होमपेज / अर्थ

एउटै नगरपालिकामा १६ करोड सामाजिक सुरक्षा भत्ता बाँडियो

नेपालगाथा २०७७ पौष १७ गते शुक्रबार १४:२७:०८ मा प्रकाशित

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०७६ र ०७७ मा करिब १६ करोड रुपैयाँ सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ। गत आर्थिक वर्ष २०७६ र ७७ मा १५ करोड ९६ लाख ९५ हजार रुपैयाँ रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो।

नगर क्षेत्रभित्रका दुई हजार ६ सय ३ जना ज्येष्ठ नागरिक (७० वर्षमाथिका) यो कार्यक्रमबाट लाभान्वित भएका छन्। ज्येष्ठ नागरिकमा कूल नौ करोड ८० हजार ६ सय रुपैयाँ प्रवाह भएको कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताए। नगर क्षेत्रका एक हजार ४४९ एकल महिलालाई तीन करोड ४९ लाख ६० हजार रुपैयाँ वितरण गरिएको छ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७२६ बालबालिकामा दुई करोड १२ लाख ३६ हजार रुपैयाँ र ५४३ अपांगता भएकाहरु व्यक्तिहरुमा एक करोड २४ लाख १८ हजार ४०० रुपैयाँ भत्ता वितरण गरिएको कार्यालयले सार्वजनिक गरेको हो। यसअघिका वर्षमा सेवाग्राहीलाई घरघरै रकम पुर्याउने भएपनि अब सबैलाई अनिवार्य बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर सेवाबारे छलफल गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले स्पष्ट पारे। यता सेवाग्राही वृद्धवृद्धाले भने बैंकले समयमा सुरक्षा भत्ता नदिएको गुनासो गरेका छन्। ‘गरिबी न्यूनीकरण, बिरामी हुँदा उपचार गराउन, विपद्को अवस्थामा उत्पन्न जोखिम न्यूनीकरण गर्न सामाजिक सुरक्षा कार्यक्रमले सहयोग पु¥याउँछ’, पराजुलीले भने, ‘बैंकमा रकम जम्मा गरिँदा हराउने र अनावश्यक खर्च हुनबाट जोगाउने भएको हुँदा यो व्यवस्था अपनाइएको हो।’

सेवाग्राहीलाई रकम प्राप्त गर्न सजिलो बनाउन सम्बन्धित बैंकलाई सेवा प्रवाहको मासिक दिन तालिका बनाएर समय निर्धारण गर्न कार्यालयले आग्रह गरेको पराजुलीको भनाइ छ। यसैगरी सेवाग्राहीको सङ्ख्या अद्यावधिक गर्न सम्बन्धित वडा कार्यालयले काम गर्दै आएको कार्यालयले जनाएको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top