ट्रेण्डिङ

होमपेज / अर्थ

आर्थिक वृद्धिदरमा उच्च गिरावट

नेपालगाथा २०७६ चैत्र ३० गते आइतबार १३:११:१० मा प्रकाशित

काठमाडौं । विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ । आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।

सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ। यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३  देखि  ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ ।

यद्दपि कोरोनाले अर्थतन्त्रमा पर्ने गहिरो प्रभावको संकेत भने विश्व बैंक र एसियाली विकास बैंक दुबैले गरेका छन् । विश्व बैंकका अनुसार  भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ । माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ । खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ ।

कोभिड १९ कारण सीमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाई छ । कोभिड १९ को असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ । यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ । आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् ।

दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ । साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पु¥याउने विश्व बैंकको भनाई रहेको छ ।

लकडाउन खुलेसँगै यस भेगका सरकारहरुले अर्थव्यवस्थालाई माथि उकास्न संयुक्र प्रयासको आवश्यकता समेत औंल्याइएको छ । लगानी आकर्षित गर्दै कोभिडले पारेको खाडल पुरा गर्न सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव समेत विश्व बैंकले दिएको छ । अर्थतन्त्रमा परेको प्रभाव परिपूर्तिका लागि सरकारहरुले बहुराष्ट्रिय वित्तीय संस्थाहरुसँग पनि उत्तिकै समन्वय गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top