होमपेज / अर्थ
हिमाल शर्मा, सल्यान । सल्यान जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ५१ करोड बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा ४ अर्व, २६ करोड, ३९ लाख, ३ हजार ७ सय ४८ रुपैया विनियोजन भएकोमा ५१ करोड ३४ लाख ६५ हजार ५ सय ४९ रुपैयाँ खर्च नभए पछि फ्रिज भएको हो ।
सबैभन्दा धेरै कर्णाली प्रदेश मातहत रहेको पूर्वाधार कार्यालयको बजेट फ्रिज भएकोे छ । पूर्वाधार कार्यालयले सल्यानका २० योजनाका लागि २५ करोड ७५ लाख बजेट विनियोजन गरेकोमा ४३ लाख मात्र रकम खर्च गरेको छ । मोटरवेल पुल, झोलुङ्गे पुल र सडकका लागि विनियोजित भएको ठुलो परिणामको बजेट १० प्रतिशत पनि खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।
यस्तै प्रदेशबाट ५८ करोड ८३ लाख ८६ हजार १ सय २७ रुपैया बजेट विनियोजन भएकोमा ४१ करोड, १३ लाख, ६७ हजार ५ सय ३ रुपैया खर्च हुँदा १७ करोड, ७० लाख, १८ हजार ६ सय २३ रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका कोष नियन्त्रक पूर्ण बहादुर ओलीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘पुर्वाधार कार्यालयको बजेट हाम्रो कार्यालय मातहतमा पर्दैन । अन्य त्यस बाहेक संघ र प्रदेशबाट विनियोजन भएको बजेट मध्ये २५ करोड, ५९ लाख ६५ हजार ५ सय ५० रुपैया बजेट फ्रिज भएको छ ।’
संघ मार्फत ३ अर्व, ४३ करोड, ८० लाख ७ हजार ६ सय २१ रुपैया बजेट विनियोजन भएकोमा ३ अर्व ३५ करोड, ९० लाख ६० हजार ६ सय ९४ रुपैया खर्च हुँदा ७ करोड ८९ लाख, ४६ हजार ९ सय २७ रुपैया बजेट फ्रिज भएको छ । फ्रिज हुनेमा सबैभन्दा बढी रकम प्रदेशको रहेको छ । प्रदेशले विनियोजन गरेको रकममा जलस्रोत तथा सिचाई विकास भिडिजन कार्यालय, डिभिजन वन कार्यालय, लेखा इकाई कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बजेट बढी फ्रिज भएको छ ।
दश वटै स्थानीय तहले बुझाएनन् चौमासिक प्रतिवेदन
आर्थिक वर्ष सकिएको भन्दै एक हप्ता पुगी सक्दा समेत जिल्लाका दसवटै स्थानीय तहले चौमासिक प्रतिवेदन बुझाएका छैनन् । असारको २४ गतेसम्म बुझाईसक्नु पर्ने प्रतिवेदन दुई हप्ता बितिसक्दा समेत खर्च प्रतिवेदन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।
दार्मा गाउँपालिकाले ९२ लाख रकम फिर्ता गरे पनि प्रतिवेदन भने नबुझाएको कार्यालयका सूचना अधिकारी वृद्धि बस्नेतले बताउनु भयो । पटक पटक प्रतिवेदन बुझाउन ताकेता गरे पनि कुनै पनि तहले प्रतिवेदन नबुझाएको उहाँले बताउनु भयो । असार २४ पछिको खर्च विवरण बेरुजु हुने बस्नेतको भनाई छ ।