होमपेज / अर्थ
काठमाडौं । डेढ वर्षदेखि रक्त क्यान्सरबाट पीडित होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ । बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले उनलाई हस्तान्तरण गरे ।
नेविसङ्घ उपाध्यक्ष उर्मिला थपलियाको आग्रहमा बेलायतमा बस्दै आएका नेपाल विद्यार्थी सङ्घका नेता राजन खकुरेलको सक्रियतामा रकम सङ्कलन गरिएको हो । रकम हस्तान्तरणपछि महामन्त्री डा कोइरालाले विदेशमा बसेर नेपाली चेलीको उपचारका लागि रकम सङ्कलन गरी पठाएर राम्रो कामको थालनी भएको बताए ।
सामाखुशीस्थित सुुप्रिम कलेजमा स्नातक तह अध्ययनरत लामालाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको थियो । धादिङको नेत्रावती–४ की २३ वर्षीया लामाको अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ ।
यसअघि लामाको उपचारका लागि कोरियामा बस्दै आउनुभएका राजु भण्डारीबाट सङ्कलन गरेर पठाइएको रु ४० हजार पाइसक्नु भएको छ ।