ट्रेण्डिङ

होमपेज / सहकारी

आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट पनि परिचालन हुन्छ – मुख्यमन्त्री कंडेल

नेपालगाथा २०८१ आश्विन १९ गते शनिबार २०:३५:१७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट पनि परिचालित हुने बताउनु भएको छ । जनहितकारी वचत तथा ऋण सहकारी संस्था सुर्खेतको २६औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री कंडेलले जनताको सहभागिताबाट विश्वासका आधारमा खोलिएका सहकारीले देशको अर्थतन्त्रमा समेत सहयोग पुगेको बताउँदै आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट पनि परिचालित भइरहेको बताउनुभएको हो । 

सहकारीका सञ्चालकको विश्वासले मात्र सहकारी सञ्चालन हुन नसक्ने बताउँदै मुख्यमन्त्री कंडेलले शेयर सदस्यहरुलाई समेत विश्वासमा लिएर अगाडि बढ्न सकियो भने मात्र सहकारीले साच्चै सहकारीका सिद्धान्त अनुसार काम गर्न सक्ने हुँदा त्यसतर्फ जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनहितकारी संस्था आजसम्म जुन गति र विश्वासका साथ अगाडि बढेको छ, यही गति र विश्वासलाई सधै कायम राख्नुपर्छ अनिमात्र यसले सहकारीको मूल्य मान्यताअनुसार काम गर्न सक्छ । 

हामी सबै मिलेर गणतन्त्र ल्यायौं, व्यवस्था बदलियो तर जनताको अवस्था बदल्न अझै नसकिएको बताउँदै मुख्यमन्त्री कंडेलले केही राजनीतिक पाटी मात्र ठीक ढंगले चलेर अन्य पाटीहरु ठीक ढंगले चल्न सकेनन् भने त्यसले समाज परिवर्तन गर्न नसकिने रहेछ । त्यसैले सबै पाटीहरु ठीक ढंगले चल्नुपर्छ । यही कुरालाई मध्यनजर गरेर सहकारीका सञ्चालक समितिका सबै सदस्य र शेयर सदस्यहरु पनि सबै ठीक ढंगले सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री कंडेलले सरकार सञ्चालन गरेको पाँच महिनामा धेरै परिवर्तन गर्न नसकिएको भए पनि हिजोदेखि बिग्रिएका केही थिति र विधिलाई सच्याएर अघि बढिरहेको बताउनुभयो । उहाँले अबको एक वर्षमा काँक्रेबिहार र बुलबुलेको स्वरुप परिवर्तन हुनुका साथै वीरेन्द्रनगरका विभिन्न सडक, शिक्षा र स्वास्थ्यमा परिवर्तनको स्वरुप देखिने बताउनुभयो । 

यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले दोस्रो पञ्चवर्षीय योजना बनाउने क्रममा सहकारी पनि अर्थतन्त्रको बलियो खम्बा हो भनेर समेटिएको जानकारी दिनुभयो । 

राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारीका सदस्यले सहकारीका बारेमा चासो र चिन्ता व्यक्त गरेमा भने सहकारी कहिल्यै पनि गलत बाटोमा नजाने बताउनुभयो । उहाँले सहकारी स्वनियममा हिड्ने भएकाले सहकारी आफै नियमन हुनुपर्नेमा जोड दिनुभयो । 

यसैगरी जनहितकारी साकोसका अध्यक्ष नवराज कंडेलले आव २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१/८२ का लागि प्रस्तावित कार्यक्रमका बारेमा जानरकारी दिँदै सहकारीले प्रविधिमैत्री सेवा विस्तारका साथै सदस्य सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।  

जनहितकारी साकोसका कोषाध्यक्ष सञ्जय योगीले आव २०८०/८१ को वित्तीय विवरण तथा आव २०८१/८२ को प्रस्तावित वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष योगीले २६ वर्षअघि स्थापना भएको जनहितकारी सहकारीले करिब ९५ करोड ६४ लाख ६७ हजार २७ रुपैयाँ ७२ पैसा कुल पूँजी बनाउन सफल भएको जानकारी दिनुभयो ।  यसैगरी संस्थाले आव २०८०/८१ को अन्त्यसम्म ७ करोड ८७ लाख ६९ हजार ४ सय रुपैयाँ शेयर पूँजी र संस्थाको कुल कोष हिसाब रु ५ करोड ६९ लाख ३३ हजार ९ सय ३२ रुपैयाँ २१ पैसा रहेको कोषाध्यक्ष योगीले जानकारी दिनुभयो ।

यसैगरी सहकारी संस्थाको जगेडा कोषमा रु ५ करोड २४ लाख ३ सय ६६ रुपैयाँ ३६ पैसा रहनुका साथै अन्य कोषमा रु ४५ लाख ३३ हजार ५ सय ६५ रुपैयाँ ८५ पैसा रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जनहितकारी वचत तथा ऋण सहकारीले शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरेर वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न वडाहरुलाई दुई भागमा विभाजन गरेर बिहीबार पिपिरामा र शनिबार सहकारीको केन्द्रीय कार्यालयको प्राङ्गणमा गरी दुई दिन साधारणसभा सम्पन्न गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top