होमपेज / सहकारी
सुर्खेत । श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले नयाँ–नयाँ काम गर्दै आइरहेकोे छ । पश्चिम नेपालमा नै पहिलो पटक एटिएम सेवा र मोबाइल बैंकिङ्ग सेवा प्रदान गरेर सदस्यहरु माझ लोकप्रिय बनेको यो सहकारी संस्थाले फेरि अर्को नयाँ कार्यक्रम सम्पन्न गरेको छ । गत हप्ता मात्र कार्यालयका कर्मचारी र सञ्चालक समितिका केही सदस्यहरुका लागि ह्याप्पीनेस कार्यक्रम सम्पन्न गरेको छ ।
ह्याप्पीनेस कार्यक्रमका गुरु डा.कञ्चन घिमिरेले सहभागीहरुलाई कसरी जीवनमा ह्याप्पी ल्याउन सकिन्छ भन्ने विषयमा ६ दिनसम्म प्रशिक्षण दिनुभएको थियो । मानिसलाई आध्यात्मिक बाटोतर्फ लैजानका लागि र तनावलाई कम गर्दै आफ्नो कर्ममा शतप्रतिशत मन लगाउनका लागि ६ दिनसम्म सुर्खेतको वीरेन्द्रनगरमा ह्याप्पीनेस कार्यक्रम सञ्चालन भएको थियो ।
ह्याप्पीनेस कार्यक्रममा सहभागी भएपछि श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमकुमार बिसीले कार्यालयका कर्मचारीले मात्र नभएर सिङ्गो मानव समुदायले नै यो कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो । मानिसले आफ्नो जिम्मेवारीलाई थप मजबुत बनाउनका लागि र कुनै पनि काममा शतप्रतिशत मन लगाएर सफल हुनका लागि ह्याप्पीनेस कार्यक्रम निक्कै प्रभावकारी हुने अध्यक्ष बिसीले बताउनुभयो ।
यसैगरी कार्यक्रमका अन्य सहभागीहरुले साच्चै नै सकारात्मक सोचका लागि र आफू सफल हुनका लागि कसरी काम गर्नुपर्छ र जिम्मेवारी अरुले दिने नभई आफै लिनुपर्छ भन्ने विषयमा थप ऊर्जा थपिएको बताए ।
द आर्ट अफ लिभिङ्ग सुर्खेतले आयोजना गरेको कार्यक्रम इगरब्रिज माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो । इगरब्रिज माध्यमिक विद्यालयले विद्यालयका सम्पूर्ण शिक्षक, अभिभावक, कर्मचारी र विद्यार्थीहरुका लागि प्रत्येक वर्ष ह्याप्पीनेस कार्यक्रमको आयोजना गर्ने गरेको छ ।