होमपेज / प्रबिधि
एजेन्सी । एप्पलले कम्पनीले कारको चाबी बोक्नु नपर्ने सहितको नयाँ फिचर थप्न लागेको जानकारी दिएको छ । सोमबार अमेरिकामा आयोजित डेभलपरहरूको विश्व सम्मेलनमा कम्पनीले आइफोनको नयाँ फिचर थप्न लागिएको जनाएको हो ।
आफ्नै ब्रान्डको सवारी साधन उत्पादन गर्ने एप्पलको महत्वाकांक्षी योजना सफल नभइरहेका बेला गाडीको चाबी विस्थापित गर्ने योजना कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै छ । यद्यपि‚ कम्पनीले जनाए अनुसार ९७ प्रतिशत नयाँ कारहरूमा एप्पलको कारप्ले फिचर जडान गरिएको छ ।
तिनै कारहरूमा प्रयोग हुनेगरी चाबी विस्थापनको योजना बनाएको हो । एप्पलको सफ्टवेयर इन्जिनियरिङ विभागका वरिष्ठ उपप्रमुख क्रेग फेडेरिगीका अनुसार सन् २०२१ भित्रमा बिएमडब्ल्यूको पाँचौं सिरिजका सबै कारहरूमा यो सुविधा थप्ने लक्ष्य राखिएको छ ।
त्यपछि क्रमशः अन्य कारमा पनि यो फिचर थपिनेछ । कार्यक्रममा कम्पनीकी वरिष्ठ म्यानेजर इमिली सनबर्टले फोनको मद्दतले कारको ढोका खोल्ने र स्टार्ट गर्ने तरिका अभ्यास गरेर देखाइन् ।
उनका अनुसार बिएमडब्ल्यू प्रयोगकर्ताले कारको भर्चुअल की फोनबाटै साथीहरूलाई पनि पठाउन सक्नेछन् । हुन्डाई‚ होन्डा‚ भोक्सवागन‚ बिएमडब्ल्यूलगायतका कार उत्पादक कम्पनीहरूको कन्सोर्टियमले कारको भर्चुअल चाबीमा एकरुपता ल्याउनेबारे छलफल गरिरहेका बेला एप्पलले ल्याएको नयाँ फिचर सहयोगी हुने अपेक्षा गरिएको छ ।
यस अघि भोल्भोसहितका केही फोनहरूले यो फिचर उपलब्ध गराए पनि व्यापक प्रयोगमा आएको थिएन ।