होमपेज / प्रबिधि

विद्युत् अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा अवरुद्ध

नेपाल गाथा २०७६ आश्विन ४ गते शनिबार १५:०८:०७ मा प्रकाशित

हुम्ला । गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन गरेर सदरमुकाम आसपासलाई सञ्चारमा जोडे पनि तीन दिनदेखि जेनेरेटर बिग्रँदा यहाँका स्थानीय सञ्चारविच्छेद हुन पुगेका छन् । भदौ २० गतेदेखि पेन स्टक पाई र नहर मर्मतका लागि भन्दै करीब २० दिनका लागि विद्युत् बन्द हुँदा पावर नपुगेर जेनेरेटरबाट सेवाग्राहीलाई सञ्चारमा जोडे पनि सदरमुकामसहित आसपासका क्षेत्र सञ्चार विच्छेद हुन पुगेका छन् । जिल्लामा नमस्ते, इस्काई ल्यान्डलाइनले काम नगर्दा सेवाग्राही भने मर्कामा परेका छन् ।

विद्युत् पावरका कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सेवा सञ्चालन गरिएको भए पनि सेवाग्राहीलाई सञ्चारमा जोड्न कुनै विकल्प नभएको नेपाल टेलिकम शाखा जुम्लाका निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिए । टेलिकमको सेवा बन्द हुँदा जिल्लामा रहेका वल्र्ड लिङ्क र एनसेलको सेवा पनि प्रभावित बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटमा एनसेलको एउटा मात्रै टावर रहे पनि क्षमताभन्दा बढी सेवाग्राहीले एनसेलको सिम कार्ड प्रयोग गर्दा फोनले काम नगरेको हो ।

नेपाल टेलिकम शाखा कार्यालय सिमकोटमा लाखौँ मूल्यका सोलार प्यानल भए पनि मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छन् । पावर हाउसमा रहेका १२ वटा पेन स्टक पाइप ओसार्न ढिलाइ हुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । आज मात्रै बाँकी रहेका १२ वटा पेन स्टक पाइप ओसार्न तीनवटै सुरक्षा निकायका अङ्ग प्रजिअ विनिता भट्टराईको नेतृत्वमा हेल्दुममा गएका सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top