होमपेज / प्रबिधि

नेपालका जीवन बाँस्तोला अमेरिकामा अब्बल

भौतिकशास्त्रमा गोल्ड मेडल, अमेरिकी राष्ट्रपति अवार्ड र ‘एजुकेसन एक्सिलेन्सी’ अवार्ड विजेता बाँस्तोला 

नेपाल गाथा २०७६ श्रावण १४ गते मंगलबार ०९:२२:५९ मा प्रकाशित

सुर्खेत । सानैदेखि शान्त र सालिन स्वभावका जीवन बाँस्तोला यतिवेला अमेरिकामा चर्चित बनेका छन् । सुर्खेतको विद्यापुरमा जन्मिएका जीवन बाँस्तोला न्युयोर्क सिटीको हाइस्कुलस्तरीय इन्जिनियरिङ प्रतिस्पर्धामा अब्बल ठहरिएसँगै अमेरिकामा चर्चित भएका हुन् । ‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ नाम दिइएको उक्त इन्जिनियरिङ प्रतियोगितामा बाँस्तोला उत्कृष्ट भएका हुन् ।  
प्रतियोगितामा बाँस्तोलाले काठको पुल बनाएर प्रतिस्पर्धामा अन्य सहभागीको डिजाइन भन्दा उत्कृष्ट बनाएका हुन् । बाँस्तोला तीन वर्षअघि आफ्ना परिवारसँगै नेपालबाट अमेरिका गएका हुन् । विद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल उनले हालै १२ कक्षा पूरा गरेका छन् । ‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ कलेज जान तयारी गरिरहेका हाइस्कुलका विद्यार्थीबीच हुने विज्ञान संकायको प्रतियोगिता हो ।


हरेक वर्ष ‘न्युयोर्क सिटी गर्भेमेन्ट’ को भूमि एवं जल संरक्षण विभागको आयोजनामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने गरेको जीवन बाँस्तोलाका बुवा यादव बाँस्तोलाले नेपालगाथालाई बताउनुभयो । बुवा यादव बाँस्तोलाका अनुसार जीवन सानैदेखि जिज्ञासु र नयाँ कुराको खोज अनुसन्धानमा एकाग्र भएर लाग्ने गर्दथे । 
जोन ब्राउन हाइस्कुलमा आयोजित प्रतियोगितामा ‘द ग्रोबर क्लिभल्यान्ड हाइस्कुल’ को स्टिम रिसर्च टिमको नेतृत्व बाँस्तोलाले गरेका थिए ।
प्रतियोगितामा हाइड्रोलिक प्रेस प्रयोग गरेर पुलको स्तरीयता जाँच गरिएको थियो । काठबाट बनाइने पुलको तौल सकेसम्म कम हुनुपर्ने र त्यसले अधिकतम वजन धान्नुपर्ने नियम रहेको थियो । उक्त नियममा बाँधिएर बाँस्तोलाले बनाएको १२.७ ग्रामको पुलले २४.४ किलोग्राम वजन धानेसँगै बाँस्तोलाको पुलले उपाधि जितेको थियो ।


भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने चाहना रहेको बताउने बाँस्तोलाले  निरन्तरताको संघर्ष र कडा परिश्रमबाट सफलता प्राप्त गरेको बताए । उनले भने, ‘आफू र आफ्नो देशको नामका लागि भविष्यमा सधै निरन्तर लागिरहने छु ।’ हालै भएको विद्यालयको दीक्षान्त समारोहमा उनले भौतिकशास्त्रमा गोल्ड मेडल पाएका छन् । अमेरिकी राष्ट्रपति अवार्डसमेत जितेका बाँस्तोलालाई न्युयोर्क सिटी काउन्सिलले ‘एजुकेसन एक्सिलेन्सी’ अवार्ड पनि प्रदान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top