ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

एलन मस्क पुनः बने विश्वका सर्वाधिक धनी व्यक्ति

नेपालगाथा २०७९ फाल्गुण १६ गते मंगलबार १२:०२:४५ मा प्रकाशित

काठमाडौँ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् ।

मस्कको सम्पत्तिमा पछिल्लो २४ घण्टामा भएको वृद्धिका साथै कुल सम्पत्ति १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् ।
ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।

शीर्ष १० अर्बपतिको सूचीमा सन् २०२१ देखि लगातार शीर्ष स्थानमा रहेका एलन मस्कलाई अघिल्लो वर्ष डिसेम्बर २०२२ मा पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ४४ अर्ब डलरको ट्विटर सम्झौताबाट सुरुवातदेखि नै उनको कुल सम्पत्तिमा व्यापक गिरावट सुरु भएको थियो जुन वर्षको अन्त्यसम्म जारी रह्यो ।

अघिल्लो वर्ष सबैभन्दा बढी सम्पत्ति गुमाउने मामिलामा एलन मस्क शीर्ष स्थानमा थिए भने यस वर्षको सुरुवातपछि नै उनको कम्पनीको सेयरमा आएको वृद्धिका कारण कुल सम्पत्तिमा वृद्धि देखिएको थियो, जुन अहिले पनि जारी छ । यस वर्ष हालसम्म एलन मस्कको सम्पत्तिमा ५०.१ अर्ब डलरको वृद्धि भइसकेको छ । यद्यपि, नम्बर एकदेखि दोस्रो स्थानमा खस्किएका बर्नार्ड अर्नाल्टको सम्पत्तिमा यस वर्ष हालसम्म २३.३ अर्ब डलरको वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top