होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । भारतको नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का कार्यालयमा आयकर विभागले छापा मारेको छ । मंगलबार दिउँसो विभागका कर्मचारीहरूले बीबीसीको कार्यालयमा छापा मारेका हुन् ।
समाचार एजेन्सी पीटीआईले जनाएअनुसार बीबीसीका केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको छ । बीबीसीले केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे वृत्तचित्र सार्वजनिक गरेको थियो । सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा भएको हिन्दु-मुस्लिम दंगाबारे पनि वृत्तचित्रमा समावेश गरिएको छ । भारतमा उक्त वृत्तचित्र ब्लक गरिएको छ ।
लिंक सेयर गर्ने सामाजिक सञ्जालहरूलाई पनि ब्लक गरिएको छ । वृत्तचित्रले भारतको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पारेको, यसले देशको विदेशी राज्यहरूसँगको मैत्री सम्बन्ध र देशभित्रको सार्वजनिक व्यवस्थालाई प्रतिकूल प्रभाव पार्ने सम्भाव्यता रहेको दाबी गरिएको छ ।