होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उप-सहायक विदेशमन्त्री अफ्रिन अख्तर नेपाल भ्रमणमा आएकी छन् । उनी सोमबार काठमाडौँ आइपुगेकी हुन् ।
अफ्रीन अख्तरको नेपाल आगमन अमेरिकाबाट पछिल्लो समय भएको लगातार तेस्रो भ्रमण हो । यसअघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपालको भ्रमण गरिसकेका छन् ।
भ्रमणका क्रममा अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।यसैगरी उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नेछन् ।
अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदैछ । यससँगै एक महिनाको अवधिमा लगातार चार भ्रमण हुनेछन् । अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् ।