होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।
निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो । भूकम्पको करिब एक सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकामा उनीहरूले त्यसलाई चमत्कार भन्दै हर्ष प्रकट गरेका छन् । दक्षिणी टर्कीएमा केही परिवार हराइरहेका आफ्ना परिवारको खोजीमा उद्धारकर्मीसँगै जुटेका छन् । शोकाकुल अर्को परिवार चिहानमा परिणत खेतमा बिलौना गरिरहेको छ । उक्त खेतमा हजारौँ शव व्यवस्थापन गरिएको छ ।
सुरक्षाको कारण देखाउँदै केही सहायता निकायले राहत सामग्री वितरण रोकेपछि दर्जनौँलाई लुटपाट मच्चाएको अभियोगमा पक्राउ गरिएको सरकारी समाचार समितिले जनाएको छ । जर्मनी र अष्ट्रेलियाले शनिबार केही स्थानमा राहत सामग्री वितरण स्थगन गरेका थिए । केही ठाउँमा झडप पनि भएको थियो । भूकम्पबाट दुई करोड छब्बीस लाख प्रभावित कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको पहिलो भूकम्प र त्यसको केही क्षणपछि त्यति नै शक्तिशाली अर्को कम्पबाट तहसनहस भएको टर्कीए र सिरियाका दुई करोड छब्बीस लाख मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसङ्घले टर्कीए र सिरियाका आठ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ । उक्त विश्व संस्थाले सिरियामा ५३ लाख मानिस घरवारविहीन भएका अनुमान गरेको छ ।
भूकम्पले दर्जनौँ अस्पताल ध्वस्त भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले देशका विभिन्न सामाजिक संस्थाका ३२ हजारभन्दा बढी स्वयम्सेवकका साथै आठ हजार दुई सय ९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका जनाएको छ । टर्कीएको गाजिन्टेपका चमेनागृहमा हजारौँ स्वयम्सेवक भूकम्पपीडितलाई खुवाउन हरसंभव सहयोग गरिरहेका छन् । आफ्नो गाडीलाई नै शयन कक्षमा परिणत गरेर केही स्वयम्सेवक सेवामा तल्लीन छन् । संयुक्त राष्ट्रसङ्घले कुर्दिश लडाकु र सिरियाली विद्रोही सक्रिय रहेका क्षेत्रमा मानवीय सहायता परिचालनमा अवरोध नगर्न आह्वान गरेको छ ।
साथै उक्त संस्थाले मानवीय सहयोग परिचलानमा सघाउन आग्रह पनि गरेको छ । राहत सामग्री ढुवानीका लागि पैतीस वर्षपछि आर्मेनिया र टर्कीएबीचको बाटो पनि खोलिएको छ । शनिबारदेखि उक्त बाटो सञ्चालनमा आएको हो । रासस