होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । सोमालियाली सेनाको कारबाहीमा परेर यहाँको आतङ्ककारी समूह अल सेबाबका १४ जना लडाका मारिएका छन् । सोमाली नेसनल आर्मीले दिएको जानकारीअनुसार यहाँको लोवर साबेले क्षेत्रमा सो सेनाले गरेको अल सेबाब समूहका विरुद्धको कारबाहीमा परेर ती लडाका र एकजना वरिष्ठ कमाण्डर पनि मारिएका हुन् ।
सो क्षेत्रमा विगतका केही समयदेखि उक्त आतङ्ककारी समूहले हिंसात्मक गतिविधी बढाएकाले यहाँको सेनाले कारबाही अगाडि बढाएको थियो ।सेनाको यो कारबाहीका क्रममा यहाँको समूह मोहम्मद नुर सिरको ज्यान गएको थियो । उनी लोवर साबेले क्षेत्रको कमाण्डर रहेका थिए ।
सोमाली नेसनल आर्मीले उक्त कमाण्डरलाई नै लक्ष्य गरेर सो कारबाही अघि बढाएको जनाएको छ । कारबाहीका क्रममा ती कमाण्डर मारिएको पनि सेनाले पुष्टि गरेको छ ।अल कायदा समूहको सहयोगी यस आतङ्ककारी समूहले यहाँका सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीको हत्या गर्ने गरेका छन् ।
उनीहरुका विरुद्धमा सशक्त कारबाही अघि बढाउन सोमालियाका राष्ट्रपतिले केही महिनाअघि यहाँको सेनालाई कडा निर्देशन दिनुभएको थियो ।त्यस लगत्तै गएका केही महिना यतादेखि यहाँको सेनाले अल सेबाब आतंककारी समूहका विरुद्धमा कारबाही थालेको हो । रासस