होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ ।
स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।
निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिनुभयो ।त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उहाँको भनाइ छ ।
तालिबान सरकारका प्रमुख प्रवक्ता जाविहुल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पार्नुभयो ।बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाव अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तरराष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।
मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उहाँको भनाइ छ ।
अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घर बाहिर एक्लै हिड्न नपाइने व्यवस्था गरिएको छ । यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिवान प्रशासनले भने अस्विकार गर्दै आएको छ । रासस