होमपेज / अन्तराष्ट्रिय
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोडनजिक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा २४ हजार नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ९९ लाख ५६ हजार पाँच सय ५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणको कारण तीन सय ५५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पनि एक लाख ४४ हजार चार सय ५१ जना पुगेको छ ।
भारतको राजधानी दिल्लीमा गत २४ घन्टामा एक हजार पाँच सय ४७ जनामा कोरोना संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । गत सोमबार यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो । मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार सात सय ४० व्यक्ति संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा तीन लाख २२ हजार तीन सय ६६ सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड– १९ परीक्षणलाई तीव्रता दिने जनाएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख पाँच हजारको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ को खोप केही साताभित्रै तयार गर्ने गरी काम भइरहेको बताएका छन् ।