होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । इन्डोनेसियामा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो। आफूले खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ। इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन्। खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा उनल भनेका छन्, “कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क लगाइने छ।”
सरकारले शुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ। आफूले खोप लगाउन पाएकोमा खुशी लागेको जनाएका छन्। त्यही खुशी सबै नागरिकलाई प्राप्त हुने दाबी पनि उनको छ।
“कुनै नागरिकले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन नपाउने कुनै कारण छैन, यसमा सबै ढुक्क हुनु होला, तपाईहरू सबैले निःशुल्क खोप लगाउन पाउनु हुनेछ,” उनले भनेका छन्। इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको पनि अधिकारीहरूले जनाएका छन्। एजेन्सी ।