होमपेज / अन्तराष्ट्रिय
१९ दिनदेखि भइरहेको भारतीय किसान आन्दोलनमा विभाजनतर्फ उन्मुख भएको छ। केन्द्र सरकारले आन्दोलनलाई कमजोर बनाउन विभिन्न खेमामा बाँडिएका किसान नेताहरुसँग व्यक्तिगत भेटघाट गर्न थालेपछि मतभेद सतहमा आएको हो। सरकारसँग अलग्गै कुराकानी गर्न खोजेका अल इन्डिया किसान संघर्ष समन्वय समितिका राष्ट्रिय संयोजक वीएम सिंहलाई पदबाट हटाइएको छ। यतिखेर हजारौं आन्दोलनकारी किसान दिल्लीको सीमा र देशभर भोक हड्तालसहित धर्नामा बसिरहेका छन्। किसानहरुले केन्द्र सरकारले ल्याएका तीनववटा नयाँ कृषि कानून रद्द गर्न माग राखिरहेका छन्।
यी कानून कार्यान्वयन गर्दा आफूहरुको आजीविका चौपट हुने र निजी व्यापारिक कम्पनी तथा घरानाहरुलाई लाभ हुने उनीहरुले बताउँदै आएका छन्। पदबाट हटाइएका वीएम सिंहले भने कानून रद्द गर्नुको साटो कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य (एमएसपी) मा केन्द्रित हुनुपर्ने बताएका थिए। पञ्जाबको किसान युनियनले पनि भारतीय किसान युनियन (उगराहाँ) को मानवअधिकारसम्बन्धी विरोध प्रदर्शनबाट आफूलाई अलग गरेको छ। भारतीय किसान युनियन पनि आजको भोक हड्तालमा सहभागी नहुने भएको छ।
दिल्लीको सीमामा जारी विरोध प्रदर्शनको १९ औं दिनमा किसान युनियनबीच विभाजन देखिएको हो। किसान र सरकारबीच पाँच चरणको वार्तापश्चात अहिले बातचित बन्द भइसकेको छ। सरकारले ल्याएका तीनवटा कानून रद्द गरेमात्र समस्याको समाधान हुने किसानहरुले बताइरहेका छन्। सरकारले भने कानून संशोधन गर्न सकिने, तर फिर्ता नलिने अडान लिएको छ। एजेन्सी ।