होमपेज / अन्तराष्ट्रिय
चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’ रहेको अमेरिका शीर्ष गुप्तचर अधिकारीले बताएका छन् । अमेरिकी गुप्तचर निकायका प्रमुख जोन राट्क्लीफले वाल स्ट्रिट जर्नलमा प्रकाशित गरेको लेखमा चीन विश्वको प्रजातन्त्र र स्वतन्त्रका लागि दोस्रो विश्वयुद्ध यताकै ठूलो जोखिम रहेको उल्लेख गरेका हुन् ।
चीनले अमेरिकाका गोप्य सूचनाहरु चोरी गरेर तथा अमेरिकी बजारमा अमेरिकी फर्महरुलाई बिस्थापित गरेर शक्ति बढाइरहेको उनले आरोप लगाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनप्रति कडा नीति लिँदै आएको छ । चीनमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै अमेरिकाले चिनियाँ सामानमा प्रतिबन्ध समेत लगाएको छ । चीनले राट्क्लीफको आरोपबारे टिप्पणी गरिसकेको छैन।
चीन अमेरिकासँग ‘युद्ध’ का लागि तयार रहेको आरोप राट्क्लीफले लगाएका छन् । आर्थिक, सैन्य तथा प्राविधिक रुपमा चीनले त्यसको तयारी गरेको अभियोग उनले लगाएका हुन् । राष्ट्रिय गुप्तचर निकायका निर्देशक राट्क्लीफले प्रतिआतंकवादमा चीनले रुसको स्थान लिएको बताएका छन् ।