होमपेज / अन्तराष्ट्रिय
चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ। हुलाक मार्फत खसालिएका दशौँ लाख मतलाई अवैध गर्न माग गरि ट्रम्पको टिमले पेन्सिलभेनियामा दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरेका छन्।
जिल्ला अदालतका न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको चुनावी अभियानले जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयास स्वरुप दायर गरेको मुद्दाका दाबीहरुलाई प्रमाणले साथ नदिने बताएका छन्। लगाइएका आरोपहरुलाई पुष्टि गर्ने प्रमाण नरहेको भन्दै न्यायाधीश ब्रानले मुद्दा खारेज गरेका हुन् ।
ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीको नेतृत्वमा रहेको ट्रम्प पक्षीय वकिललाई न्यायाधीशले प्रमाण बिनै मत अवैध गर्न माग गरेको भन्दै सचेत समेत गराएको समाचार संस्था रोयटर्सले जनाएको छ । फैसलामा न्यायाधीश ब्रानले लेखेका छन्, ‘यो अदालत सामु तोडमोड गरि आधारहिन र त्रुटिपूर्ण बहस गरियो जसमा कुनै सत्यता देखिएन । बहसमा कपोलकल्पित आरोपहरु मात्रै लगाइयो ।’
पेन्सिलभेनियाका चर्चित रिपब्लिकन समेत रहेका न्यायाधीश ब्रानले फैसलामा भनेका छन्, ‘अमेरिकामा यसले कुनै पनि एक मतदाताको मताधिकारलाई न्याय गर्दैन ।’ ट्रम्प समूहले दायर गरेको मुद्दामा मतपरिणामलाई औपचारिकता प्रदान गर्नबाट रोक्नु पर्ने माग गरिएको थियो । केही काउन्टीहरुले अवैध रुपमा हुलाक मार्फत खसालिएका मतहरुमा देखिएका कमजोरीहरु सुधारका लागि मतदातालाई स्वीकृति दिएको आरोप लगाइएको थियो । ती सबै आरोप न्यायाधीशले खारेज गरेका छन् ।
पेन्सिलभेनियाको मतपरिणामलाई चुनौति दिनका लागि ट्रम्पका सबै वैध कानूनी विकल्पहरु समाप्त भएको रिपब्लिकन सिनेटर प्याट टूमीले बताएका छन् । उनले ट्रम्पलाई हार स्वीकार गर्न र बाइडेनलाई जितका लागि बधाई दिन सुझाएका छन् । ट्रम्पका वकिलले फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । उनीहरु जति सक्दो चाँडो मुद्दा सर्वोच्च अदालतसम्म लैजाने प्रयासमा छन् ।
चुनावको नतिजा आफ्नो पक्षमा पार्ने सम्भावनाका लागि ट्रम्पले पेन्सिलभेनियाको मत आफ्नो पक्षमा पार्नै पर्ने हुन्छ । राज्यमा राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्र्याट जो बाइडेन ट्रम्प भन्दा ८१ हजार भन्दा बढि मतले अघि रहेका छन् । देशभर उनले ६० लाख भन्दा धेरै मतको अग्रता लिएका छन् । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति चुनाव भएको थियो । त्यसमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।
राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ । चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए ।
अहिले प्रमाण बिना धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका ट्रम्पले हार स्वीकार गरेका छैनन् । अहिलेसम्म कम्तिमा ३० मुद्दा खारेज वा उनको विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् ।