ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नयाँ राष्ट्रपति छान्न अमेरिकामा आज मतदान

नेपालगाथा २०७७ कार्तिक १८ गते मंगलबार १५:४२:३३ मा प्रकाशित

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति छान्न आज मतदान हुँदैछ।  अमेरिकामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था छ। यसपालि रिपब्लिकन पार्टीबाट राष्ट्रपति  डोनाल्ड ट्रम्प फेरि अर्को कार्यकालका लागि चुनिने दौडमा छन् भने डेमोक्र्याटिक पार्टीबाट बाराक ओबामाका पालामा उपराष्ट्रपति रहेका जो बाइडेन मैदानमा छन्।    

विभिन्न सर्वेक्षणहरूले राष्ट्रपतिमा बाइडेन चुनिने देखाएका छन्। यसअघि सन् २०१६ मा पनि लगभग सबै सर्वेक्षणहरूले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने देखाएका थिए। उनले ट्रम्पले भन्दा झन्डै  ३० लाख बढी मत पाए पनि चुनाव हारेकी थिइन्।४ वर्षअघि ट्रम्पले संस्थापनविरोधी नारा दिएर चुनाव जितेका थिए।

अमेरिकालाई फेरि महान् बनाउने  उनको  वाचा थियो। आप्रवासीप्रति कडा नीति, महिला, मुस्लिम र अल्पसंख्यकप्रति  असहिष्णु, अन्तर्राष्ट्रिय  मित्र राष्ट्रसँग परामर्श बिनै पेरिस जलवायु सम्झौतादेखि इरानको आणविक सम्झौताबाट बाहिरएका ट्रम्पले पछिल्लो समय कोरोना महामारीमा प्रभावकारी  काम गर्न नसकेको डेमोक्र्याटिकहरूको आरोप छ। अमेरिकालाई फेरि विश्वकै अग्रणी मुलुक बनाउन उनलाई हराउनु पर्ने उनीहरूको तर्क छ।

ट्रम्पले भने आफूले अमेरिकाको अर्थतन्त्रलाई मजबुद् बनाएको, बेरोजगारी न्यूनमा झारेको, करमा व्यापक कटौती गरेको र चीनलाई सही ठाउँमा ल्याउन खोजिरहेको दाबी गरेका छन्। यसैबीच  अमेरिकामा  सोमबारसम्म ९ करोड ५० लाख बढी मानिसहरूले मतदान गरिसकेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकामा मतदानको दिनभन्दा पहिला नै भोट हाल्न पाउने ‘अर्ली भोटिङ’को व्यवस्था छ। यसपालि कोरोनाभाइरसको महामारीका कारण यसरी हुलाकबाट अर्ली भोटिङ गर्नेहरूको संख्या ह्वात्तै बढेको हो। हुलाकबाट मतदान बढेसँगै मतगणना हुन र अन्तिम परिणाम आउन केही दिन लाग्ने बताइएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top