होमपेज / अन्तराष्ट्रिय
वासिङटन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई अहंकारी भएको आरोप लगाएका छन् । ट्रम्प आफ्नो अहंकारलाई जगाउन केन्द्रित भएको उनको भनाइ थियो । साथै उनले कोरोनाभाइरस महामारीको महत्वपूर्ण समस्यालाई गम्भीर रुपमा नलिएको र अरु कुरामा चिन्ता गरेको बताए । बराक ओबामाले डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनको पक्षमा प्रचार गर्ने क्रममा यस्तो बताएका हुन् । यही शनिबार ओबामाले बाइडेनको पक्षमा भोट माग्ने क्रममा ट्रम्पमाथि आरोप लगाएका हुन् । ओबामा दम्पत्ती नै सुरुदेखि नै बाइडेनको पक्षमा खुलेर लागेका छन् । बाइडेन ओबामाको कार्यकालका उपराष्ट्रपति समेत हुन् ।
‘राष्ट्रपति ट्रम्प आफ्नो अहंकार जगाउन केन्द्रित छन्, जबकि, बाइडेन शालीनता र सहानुभूतिमा केन्द्रित छन्,’ ओबामाले भनेका छन् । ओबामा ट्रम्पभदा अघिल्लो अर्थात्, अमेरिकाको ४४औँ राष्ट्रपति हुन् । ‘उनले कुनै काम गर्न वा कसैलाई सहयोग गर्न कुनै चासो देखाएनन्, तर आफैँलाई वा साथीभाइका लागि मात्रै । साथै राष्ट्रपतीय जिम्मेवारीलाई रियालिटी शो भन्दा केही माथिको रुपमा मात्रै देखाए । तर दुर्भाग्यवश हामीहरु ती परीणामहरुसँग बाँच्नुपर्छ,’ ओबामाले भने ।
उनले अघि भने, ‘म तिमीलाई भन्न सक्छु कि, राष्ट्रपति पदले तिमीलाई परिवर्तन गर्दैन, यसले तिमी को हौ त्यो देखाउँछ, यसले तिम्रो खुलासा गरिदिन्छ ।’ यस्तै ओबामाले ७७ वर्षीय बाइडेनलाई आफ्नो ‘दाई’ भन्दै उनको प्रशंसा समेत गरे । ‘म जो बाइडेनलाई माया गर्छु, र उनी महान राष्ट्रपति बन्नेछन्, र उनले हरेकलाई स्वाभिमान र सम्मानको व्यवहार गर्नेछन्,’ ओबामाले भने । यस्तै उनले बाइडेनले आफूलाई झन् राम्रो राष्ट्रपति बनाएको पनि बताए । ७४ वर्षीय ट्रम्पले भने ह्वाइट हाउसमा रियालिटी शो गरिरहेको ओबामाको आरोप छ । एजेन्सी ।