ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

युरोपमा संक्रमण बढेपछि कतै संकटकाल, कतै कर्फ्यु

नेपालगाथा २०७७ कार्तिक १३ गते बिहीबार ०९:२७:५२ मा प्रकाशित

फ्रान्स । कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएसँगै युरोपभरि संकट थपिएको छ । जर्मनी, स्पेन बेल्जियमलगायत मुलुकले संकटकाल घोषणा गरे भने फ्रान्समा बुधबारदेखि नै दुई साताका लागि लकडाउने घोषणा गर्ने सरकारको तयारी रहेको त्यहाँका संचार माध्यमहरूले उल्लेख गरेका छन् । स्पेन र फ्रान्समा ११ लाखभन्दा संक्रमित भएपछि संकटकाल लगाइएको हो । स्विटजरल्यान्डको भाले प्रान्तमा दुई साताभित्र अस्पताल भरिई नयाँ बिरामी लिन नसकिने स्विस सोसाइटी अफ इन्टेन्सिभ केयरका प्रमुख फ्रान्जिस्का भोन आर्क्स स्ट्रासलेरले चेतावनी दिएका छन् । त्यहाँ कोरोनाका पहिलो चरणकै संक्रमितले अझै पूर्ण स्वस्थ अनुभव गरेका छैनन् भने संक्रमणमा परेका स्वास्थ्यकर्मीको अवस्थामा समेत सुधार भइनसकेकाले दोस्रो लहरमा फेरि १२ घण्टा सेवा दिन नसक्ने भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । फ्रन्समा जाडोयामसँगै दम, रुघा खोकीका बिरामीको चाप बढेमा अस्पतालले धान्नै नसक्ने स्थिति रहेको फ्रान्सेली चिकित्सकहरूले बताएका छन् ।

फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियले अत्यन्त गम्भीर र आपतकलीन अवस्थाका बाहेक अन्य सबै बिरामीको शल्यक्रिया र अस्पताल भर्ना रोकेर कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएका छन् । संक्रमण रोक्न भन्दै फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायतमा जारी गरिएका सरकारी आदेशविरुद्ध नागरिकले आन्दोलन थालेका छन् । नागरिकका अधिकार कुण्ठित गरिएको, सरकारले कोरोनाका नाममा राजनिति गरेको, नियन्त्रणका लागि लादिएका सरकारी आदेशहरू हास्यास्पद रहेको जस्ता आरोप लगाउँदै फ्रान्स, इटाली र जर्मनी, स्विटजरल्यान्डका विभिन्न सहरहरूमा ‘एन्टी कोभिड मुभमेन्ट’ का नाममा प्रदर्शन भएका छन् । इटालीको नापोलीमा केही दिनअघि कोरोना संक्रमणका सरकारी नियम तोड्दै गरिएको प्रदर्शनीमा सुरक्षाकर्मीमाथि नै अश्रुग्यास र ढुंगामुढा गरियो । त्यसबाट केही प्रहरी घाइते पनि भए । चेक गणतन्त्रमा कोरोना रोकथामका नाममा कर्फ्यु लगाइएको छ । त्यहाँ अर्को तहको लकडाउन धान्न नसकिने भन्दै बहस पनि उठेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या यस साता अघिल्लो साताको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको छ । संगठनकी प्रवक्ता डा। मार्गरेट ह्यारिसले बेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड्स र रुसमा धेरै संक्रमित देखिएको बताएकी छन् । उनले भनिन्, ‘हालको चिन्ता भनेको धेरै बिरामीहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन् ।’ बीबीसीको एक कार्यक्रममा बोल्दै ह्यारिसले भनिन्, ‘युरोपमा नयाँ संक्रमित र मृतकको संख्यामा तीव्र वृद्धि भइरहेको हामीले देखेका छौं ।’ युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्धहरू प्रभावकारी भए नभएकोबारे टुंगोमा पुग्न करिब दुई साता लाग्ने उनको भनाइ छ । ‘हामीले संक्रमितको संख्या घट्दै गएको रातारात देखिने कुरा होइन,’ उनले भनिन् ।

संक्रमणको दोस्रो लहर पहिलोभन्दा बढी खतरा हुन्छ कि भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हामीले फरक खालको वृद्धि देख्न लागेका छौं ।’ राम्रो खबर भनेको रोगको अवस्थाबारे हाम्रा अस्पतालहरू पहिलेभन्दा जानकार छन् । त्यस्तै धेरै बिरामी नहुने उमेर समूहमा संक्रमण धेरै देखिएको छ । यी दुई कारणले अप्रिलमा देखिएजस्तो मृत्यु हुनेको संख्या नबढ्न सक्छ,’ ह्यारिसले भनिन् । यसैबिच युरोपेली युनियनको आर्थिक सहयोग कसरी लिने भन्ने विषयमा सदस्यहरूबीच विवाद देखिएको फ्रान्सको एक संचार माध्यमले उल्लेख गरेको छ । फ्रान्स र जर्मनी जस्ता युनियनका शक्तिशाली देशहरूले अनुदानमा सहयोग दिनुपर्ने तर्क राखेका छन् भने नर्वे, फिनल्यान्ड, नेदरल्यान्डसजस्ता साना मुलुकले ऋणका रूपमा दिनुपर्ने अडान राखेका छन् । (एजेन्सीहरू)

प्रतिक्रिया

सम्बन्धित खवर

Top