ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या विगतको भन्दा अत्याधिक

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार ०७:०७:३२ मा प्रकाशित

अमेरिकामा यसपटक मतदाताहरुमा उत्साह विगतका चुनावमा भन्दा अत्याधिक रहेको देखिएको छ । अमेरिकाका अधिकांश राज्यका निर्वाचन अधिकारीहरुले अग्रिम मतदान गर्नेको संख्या कीर्तिमानी रहेको बताएका छन् । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित सिनेट र हाउस अफ रिप्रिजेनटेटिभका लागि चुनाव हुँदैछ । त्यसका लागि सबै राज्यमा अग्रिम मतदानका लागि सीमित मतदान स्थलहरु खुला भएका छन् ।

प्रायः सबै राज्यमा अग्रिम मतदान गर्नेको संख्या विगतका चुनावमा भन्दा अत्याधिक पुगिसकेको छ । कतिपय स्थानमा विगतका चुनावमा हुने गरेको मतदान भन्दा धेरै मत अहिले नै खसिसकेको छ । मतदाताहरुले लामो लाइन सबेर घण्टौँ कुरी मत दिएका छन् ।शुक्रबारसम्म दुई करोड २० लाख भन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । उनीहरुले मतदान स्थलमै गएर वा हुलाक मार्फत मत दिएका हुन् । सन् २०१६ मा यो बेला मात्रै ६० लाख मतदानले मत दिएका थिए ।

कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गर्नेको संख्या अत्याधिक भएको विज्ञले बताएका छन् । चुनावकै दिन मतदान गर्नुको विकल्प अधिकांशले खोजेका कारण अग्रिम मत दिनको संख्या बढी भएको उनीहरुको भनाई छ । हुलाक मार्फत हुने मतदानमा कडाइ गरेको टेक्सासमा गएको मंगलबार अग्रिम मतदान सुरु भएको थियो, सोही दिन कीर्तिमानी मतदातले भोट खसाले ।

यस्तै गएको सोमबार जर्जिया राज्यमा पनि कीर्तिमानी संख्यामा मतदान भयो । राष्ट्रपति चुनावमा महत्वपूर्ण राज्य ओहायोमा २३ लाख भन्दा बढीले हुलाक मार्फत मतदान गरेका छन्, जुन सन् २०१६ को भन्दा दोब्बर हो । विशेष गरी डेमोक्र्याट, महिला तथा अफ्रिकन अमेरिकनले अग्रिम मतदान गरेका छन् । तर यसको अर्थ चुनावमा डेमोक्र्याट विजयी हुने निश्चित भन्ने होइन । रिपब्लिकनहरु चुनावकै दिन ठूलो संख्यामा मतदानस्थलमा उपस्थित हुने अनुमान छ ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन् । उनलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन ट्रम्प भन्दा अघि रहेका छन् । तस्बिर : गेट्टी इमेज

प्रतिक्रिया

सम्बन्धित खवर

Top