होमपेज / अन्तराष्ट्रिय
कंगोमा रहेकाे एउटा सुनखानीमा पहिरो जाँदा ५० जना भन्दा बढी कामदारको मृत्यु भएको छ। धेरै दिनदेखि भइरहेकाे भारी वर्षापछि सुनखानीमा पहिरो गएको अधिकारीहरुले जनाएका छन्। कंगोको दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार घटना भएको हो। प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन्। ‘पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
प्रान्तीय प्रशासक कासीले उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेको जनाएका छन्। खानीमा खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेपछि उक्त स्थानमा पहिरो गएको हो। घटनापछि त्यहाँ दुई दिन शोकको घोषणा गरिएको छ। एजेन्सी ।