होमपेज / अन्तराष्ट्रिय
काठमाडाैं । कोरोनाविरुद्धको खोप बनाइरहेका मुलुकहरूले खोप प्रभावकारी हुने आशा लिएका छन् । रुसले कोरोनाको खोप सार्वजनिक गरिसकेको छ भने चीनले पनि आफूले बनाएको खोपका विषयमा खुलेर कुरा गर्न थालेको छ । चीनको सिनोभ्याक बायोटेक कम्पनीले आफ्नो खोपको मध्यम चरणको परीक्षणको आरम्भिक परिणाम सार्वजनिक गरेको छ ।
खोपले इम्युन रेस्पोन्स गराएको तर युवाभन्दा वृद्धमा कम असर देखिएको भनी सिनोभ्याकले चिन्ता व्यक्त गरेको छ । वृद्धहरूको इम्युन सिस्टम कमजोर हुने भएकाले स्वास्थ्य अधिकारीहरूले यो खोप उनीहरूलाई पूर्ण सुरक्षित राख्न सफल हुने हो कि हैन भनी शंका गरिएको छ । सिनोभ्याक कम्पनीका मिडिया व्यवस्थापक लिउ पेइचेङले खोपको पहिलो र दोस्रो चरणको परीक्षणमा कुनै गम्भीर दुष्प्रभाव नदेखिएको बताए ।
परीक्षणमा ६० वर्षसम्मका ४२१ मानिस सहभागी थिए । यसको पूर्ण परिणामको घोषणा अहिलेसम्म हुन सकेको छैन । खोप परीक्षणका लागि आएका स्वयंसेवीहरूलाई तीन समूहमा बाँडिएको थियो । एक समूहलाई अलि कम डोज, दोस्रो समूहलाई अलि बढी अनि तेस्रोलाई त्यसभन्दा बढी डोज दिइएको थियो । यीमध्ये ९० प्रतिशतभन्दा बढी मानिसमा एन्टीबडीको स्तर बढेको पाइयो । तर युवाहरूको तुलनामा वृद्धहरूमा एन्टीबडीको स्तर कम भेटियो । एजेन्सी ।