होमपेज / अन्तराष्ट्रिय
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी अब पार्टीको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट हुनुपर्ने बताएकी छिन्। टाइम्स अफ इन्डियाका अनुसार एक अन्तर्वार्तामा प्रियंकाले यस्तो धारणा राखेकी हुन्। अध्यक्ष राहुल गान्धीले नै परिवारबाट अब कोही पार्टीको अध्यक्ष हुन नहुने बताएको र त्यसमा आफू पूर्ण सहमत रहेको प्रियंकाले बताएकी छिन्।
पार्टीले अब नयाँ बाटो खोज्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रियंकाले भनेकी छिन्, 'कांग्रेसले न्यु मिडिया (सोसल मिडिया)लाई सम्झन पनि धेरै ढिला गर्यो, जब हामीले आफ्ना विचार न्यु मिडियाबाट राख्न थाल्यौ : त्यतिखेरसम्म ढिला भइसकेको थियो।' गैरगान्धी परिवारबाट पार्टीको नेतृत्व सम्हाल्ने व्यक्तिले दिएको निर्देशन आफूले सहर्ष पालना गर्ने पनि प्रियंकाले बताएकी छिन्।
भारतीय कांग्रेसमा निकै अघिदेखि गान्धी परिवारको विरासतयुक्त राजनीति चलिआएको छ। यसअघिका दुईवटा चुनावमा कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँग नमिठो हार ब्यहोरिसकेको छ। पार्टी नेतृत्वमा परिवारवाद हावी हुनु नै यो हारको प्रमुख कारण रहेको आरोप लागिरहेको छ। प्रियंकाका पति रोबर्ट बाड्रामाथि भ्रष्टाचार आरोप लागेको छ। एजेन्सी ।