होमपेज / अन्तराष्ट्रिय
एसिया यूरोप र अमेरिकाका केही स्थानमा कोरोना भाइरसको म्युटेसन (जिनमा हुने बदलाव) देखिएको छ। विशेषज्ञका अनुसार ती स्थानमा भाइरसको चरित्र अधिक संक्रामक देखिए पनि तुलनात्मक रुपमा कम खतरनाक छ। नेशनल युनिभर्सिटी अफ सिंगापुरका वरिष्ठ चिकित्सक तथा संक्रामक रोग विशेषज्ञ डाक्टर पल टेम्बियाले भने‚ ‘केही स्थानमा डि–१६४–जी म्युटेसनको संक्रमण हेर्दा मृत्युदर घटेको देखिन्छ। यो संक्रमण कम घातक रहेको प्रमाणले देखाउँछ।’
संक्रमणको दर व्यापक भए पनि कम घातक हुनु राम्रो कुरा भएको उनले बताए। ‘जतिजति म्युटेसन हुँदै जान्छ भाइरस त्यति त्यति कम घातक हुँदै जान्छ’‚ टेम्बियाले भने‚ ‘मानिसहरू संक्रमित हुने तर नमर्ने स्थिति भाइरसका लागि पनि हितकर छ‚ किनकी भाइरसको भोजन र आश्रय मानिसमै निर्भर हुन्छ।’ विश्व स्वास्थ्य संगठनले ६ महिनाअघि नै कोरोना भाइरसको म्युटेसन पुष्टि गरेको थियो।
म्युटेट भाइरस युरोप र अमेरिकामा व्यापक रुपमा फैलिइरहेको डब्ल्यूएचओले बताएको थियो। डाक्टर टेम्बियाले एसियामा पनि म्युटेट भाइरसको संक्रमण देखिएको बताउँदै यो कम घातक रहेको दाबी गरेका हुन्। डब्ल्यूएचओले म्युटेट भाइरस घातक छ वा छैन भन्नेबारे अध्ययन भइरहेको बताउँदै आएको छ।
देशका दुई हटस्पटमा डि–१६४–जी म्युटेसन भेटिएपछि आइतबार मलेसियाका स्वास्थ्य विभागका डिजी नूर हिशाम अब्दुल्लाले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका थिए। म्युटेट भाइरस १० गुणा खतरनाक रहेको दाबी गर्दै उनले ‘कोरोनाविरुद्ध जुध्न सफल’ भनिएका भ्याक्सिन पनि डि–१६४–जी म्युटेसनका लागि प्रभावकारी नहुने जिकिर गरेका थिए। डाक्टर टेम्बियाको भने यसमा फरक मत छ।
भाइरसको चरित्रमा जतिसुकै फेरबदल भएपनि भ्याक्सिनको प्रभावकारितामा कमी नआउने उनी बताउँछन्। टेम्बियाको तर्कमा सिंगापुरका स्वास्थ्य अनुसन्धाता ममर स्ट्रोह पनि सहमत छन्। उनी भन्छन्‚ ‘भाइरसको म्युटेसन एकसमान देखिएको छ‚ भाइरसले त्यस स्थानलाई फेरेको छैन, जसलाई सामान्यतया: हाम्रो इम्युन सिस्टमले चिन्छ।
त्यसैले भाइरसको म्युटेसनकै कारण विकसित भइरहेका भ्याक्सिनहरू प्रभावकारी नहुने भन्ने हुँदैन।’ सिंगापुरको स्वास्थ्य विभागले डि–१६४–जी म्युटेसन सिंगापुरमा पनि भेटिएको तर उच्च सतर्कताका कारण फैलन नपाएको पुष्टि गरेको छ। एजेन्सी ।