होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीलाई कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना संक्रमण भएको कुरैशी आफैले ट्वीटर मार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’
विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’
उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६ सय २३ जना निको पनि भएका छन् ।