होमपेज / अन्तराष्ट्रिय
एजेन्सी, काठमाडौँ । अमेरिकामा एकैदिन ५१ हजार बढि कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारीको सर्वाधिक चपेटामा परेको अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमितको संख्या बढेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकाले प्रतिदिन थपिने संक्रमित संख्यामा पनि नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार फ्लोरिडासहितका ९ अमेरिकी राज्यले संक्रमित संख्याले नयाँ रेकर्ड कायम गरेको जनाएका छन् । फ्लोरिडा राज्यमा मात्रै एकैदिन कीर्तिमानी १० हजार संक्रमित फेला परेका छन् ।
कोरोनाको अर्को इपिसेन्टर बनेको क्यालिफोर्नियामा यो वृद्धि ३७ प्रतिशत पुगेको छ भने त्यहाँ अस्पताल भर्ना हुने कोभिडका विरामी दुई सातामा ५६ प्रतिशतले बढेका छन् ।
बढ्दो संक्रमणलाई ध्यानमा राख्दै टेक्सस राज्यका गभर्नर ग्रेग अबोट बिहीबार २० भन्दा बढी संक्रमित भेटिएका राज्यका सबै काउन्टीमा अनिवार्य मास्कको प्रयोग गर्ने आदेश दिएका छन् । टेक्ससमा बिहीबार कोरोनाका करिब ८ हजार नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्ला १४ दिनमा ५० मध्ये ३७ अमेरिकी राज्यमा अघिल्लो दुई साताको दाँजोमा संक्रमित संख्या बढेको रोयटर्सको समाचारमा जनाइएको छ ।
अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख २८ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ । यो संख्या विश्वमा कोरोनाका कारण भएको मृत्युको झण्डै एक चौथाई हो ।
पछिल्लो समय बढिरहेका संक्रमित संख्यालाई ध्यानमा राख्दै कयौं अमेरिकी गभर्नरहरूले लकडाउन खोल्ने योजनालाई स्थगित गरेका छन् । यसैगरी उनीहरूले सामुन्द्रिक किनार र अमेरिकी स्वतन्त्रता दिवसमा हुने जमघटमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।