ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

डब्ल्युएचओको भन्यो – कोरोना महामारीको खराब चरण आउन बाँकी नै छ

नेपालगाथा २०७७ असार १६ गते मंगलबार ०८:२९:४८ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको सबैभन्दा खराब चरण आउन बाँकी नै रहेको बताएको छ । डब्ल्यूएचओका महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९ (कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका हुन् ।

गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३ सय ४५ संक्रमितको ज्यान गएको छ ।

यही महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ । विश्वभरको अर्थव्यवस्था र सामाजिक जनजीवनमा निकै असर परेको छ । यति धेरै मानवीय र आर्थिकरसामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसले बताएका हुन् । 

उनले भनेका छन्, ‘यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं । केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै छ ।

राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।’ यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताएका छन् । 

महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top