होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । भारतको जम्मू काश्मीरमा सीमा सुरक्षामा खटिएका एक जना गोर्खा सैनिकको मृत्यु भएको छ । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।
भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको जनाएको छ । गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।
३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् ।