होमपेज / अन्तराष्ट्रिय
एजेन्सी । भारतको महाराष्ट्र राज्य सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरेका ५ हजार करोड भारूका तीन चिनियाँ परियोजना रोकेको छ । टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार उसले चिनियाँ कम्पनीसँग यी सम्झौता हालै लगानीकर्ताहरूसँग गरेको ‘म्याग्नेटिक महाराष्ट्र २.०’ सम्मेलनमा गरेको थियो ।
‘यो निर्णय केन्द्रीय सरकारसँगको सल्लाहमा गरिएको हो । यो सम्झौता सीमा क्षेत्रमा चिनियाँ सैनिकबाट २० भारतीय सैनिक मारिनु अघि गरिएको थियो । विदेश मन्त्रालयले चिनियाँ कम्पनीहरूसँग कुनै पनि सम्झौता नगर्न सुझाव दिएको छ’, महाराष्ट्रका उद्योगमन्त्री सुभास देसाईले भने ।
जुन १५ मा माक्षेत्रमा चिनिायाँ सैनिकसँग भएको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो । महाराष्ट्र सरकारको पछिल्लो निर्णय यसै घटनालाई मध्यनजर गर्दै आएको ठानिएको छ ।
गत महिना भएको अनलाइन सम्मेलनमा भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले सहभागिता जनाएका थिए । यसरी रोकिएका परियोजनामध्ये पुणेनजिकै तेलेगावमा ३ हजार ७ सय ७० करोड भारूको लगानीमा बन्ने गेर्टवाल मोटर्सको अटोमोबाइल प्लान्ट स्थापना रहेको छ ।
यसैगरी फिएमआई एलेक्ट्रो मोबिलिटी र चिनियाँ कम्पनी फोटोनले गर्ने एक हजार करोड भारूको परियोजना रहेको छ । यस परियोजनाले १५ सय मानिसलाई रोजगारी प्रदान गर्ने बताइएको थियो ।
यसैगरी चिनियाँ कम्पनी हेङ्ली इन्जिनियरिङले २ सय ५० करोड भारू थप लगानी विस्तारगर्ने जनाएको थियो । ‘म्यागनेटिक महाराष्ट्र २.०’ कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई बढाउन महाराष्ट्र सरकारले सुरू गरेको एउटा प्रयास थियो ।
यस अन्तरगत महाराष्ट्र सरकारले भारतीय कम्पनीका अलावा चीन, दक्षिण कोरिया, सिङ्गापुर तथा अमेरिकका कम्पनीहरुसँग १२ वटा विभिन्न सम्झौता गरेको थियो ।
महाराष्ट्र सरकारले अन्य ९ सम्झौताला भने प्रक्रियामा लगेको जनाएको छ ।
यसै वर्षको जनवरीमा ग्रेटवाल मोटर्सले अमेरिकी कम्पनी जनरल मोटर्सको तेलगाँवमा रहेको प्लान्ट खरिद गर्ने सम्झौता गरेको थियो। ग्रेटवाल यस प्लान्टबाट विद्युतिय र एसयुभी
गाडी उत्पादन गर्ने योजनामा थियो ।
कम्पनीले विभिन्न चरणमा गरेर ७ हजार ६ सय करोड भारू लगानी गर्ने बताएको थियो। यसबाट करिब ३ हजार रोजगारी श्रृजना हुने उसको भनाइ थियो ।