होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । भारतमा कोरोना भाइरस कोभिड १९ का कारण १० हजार भन्दा बढिको मृत्यु भएको छ । वल्र्डोमिटरडटइन्फोले आफ्नो ड्यासबोर्डमा भारतका दुई हजार ६ जना संक्रमितले एकै दिन ज्यान गुमाएको तथ्यांक राखेको छ ।
यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टा भित्रै ३४ हजार ९१८ जना संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा त्यहाँ एक हजार २ सय ८२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या नौ लाख २३ हजार १ यस ८९ पुगेको छ । कूल ४५ हजार २ सय ४१ जनाले ज्यान गुमाएको ब्राजिल यति खेर कोरोनाबाट अति (प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ ।
चीनको राजधानी बेइजिङमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्थानीय प्रशासनले त्यहाँ कोरोना संक्रमण फेरि खतरनाक स्तरमा पुगेको जानकारी दिएको छ । दर्जनौं नयाँ संक्रमित थपिएका छन् । मानिसहरूको आवतजावतमा रोक लगाइएको छ । केही वर्षयता निकै राम्रो सम्बन्ध बनाएका अष्ट्रेलिया र चीनबीच कोरोना महामारीका कारण तनाव बढेको छ । अष्ट्रेलियाले चीन माथि डर र विभाजनलाई मलजल गरेको आरोप लगाएको छ । दुई देशबीच कुटनीतिक तनाव बढिरहेको छ । अमेरिका र पश्चिमी राष्ट्रले झै पछिल्लोपटक अष्ट्रेलियाले पनि कोरोना फैलनुमा चीन जिम्मेवार रहेको भन्दा त्यहाँ जाँच हुनुपर्ने माग राखेको थियो ।
संयुक्त राष्ट्रसंघ (युएन) ले दक्षिण अमेरिकामा कोरोना भाइरसका कारण भोकमरी निम्तिन सक्ने जनाएको छ । दक्षिण, मध्य र क्यारेबियन देशहरूमा कोरोना महामारीका बीच करोडौं मानिसहरूले खाद्य असुरक्षा व्यहोरिरहेको अनुमान गरिएको छ । स्पेनले बेलायतबाट आउने मानिसहरूले क्वारेन्टाइनको सामना गर्नुपर्ने बताएको छ । युरोपमा बेलायत यतिखेर कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । त्यहाँ दुई लाख ९९ हजार ६ सय जना संक्रमित भेटिएका छन् भने ४२ हजार ५४ जनाको ज्यान गइसकेको छ । विश्वमा बेलायत अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित छ ।
मंगलबार इटलीमा कोरोना भाइरस संक्रमित थप ३४ जनाको मृत्यु भएको छ । निकै ठूलो मानवीय हताहती निम्त्याएर बीचमा केही मत्थर बनेको महामारीको दोस्रो लहर त्यहाँ पनि देखिन थालेको छ । सोमबार पनि इटलीमा २६ जनाको मृत्यु भएको थियो । इटलीमा मंगलबार सम्ममा दुई लाख ३७ हजार ५०० जना संक्रमित भेटिएका छन् भने ३४ हजार ४०५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
एजेन्सी ।