होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । भारत र चीनको सिमाना लद्दाख गलवान भ्यालीमा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमबार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको हो ।
वक्तव्यमा भनिएको छ, ‘भारतीय र चिनियाँ सैनिकहरुबीच गलवान इलाकामा संघर्ष बिराम भएको छ, जहाँ दुबै पक्षबीच १५÷१६ जुनको रातमा भिडन्त भएको थियो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयस भन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको हो ।’
मंगलबार दिँउसो भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा एक वरिष्ठ सैनिक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो । चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन । तर, केही भारतीय सञ्चार माध्यमका अनुसार ४३ जना हताहत भएको जनाइएको छ ।
चीनले भने यस विषयमा कुनै औपचारिक तथ्यांक सार्वजनिक गरेको छैन । यस अघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले भारतीय सेनाहरु चिनियाँ क्षेत्रमा प्रवेश गरेर आफ्ना सेनामाथि आक्रमण गर्न थालेपछि प्रतिकार गरेको बताएका थिए ।