होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । सीमा क्षेत्रमा भारत र चीनका सैनिक बिच झडप भएको छ । लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारी सहित तीन भारतीय सैनिकको ज्यान गएको छ । भारत सरकारका अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो । भारतीय सेनाका अनुसार भारत–चीन सीमास्थित गलवान घाटीमा सोमबार राति एक जना कर्णेल र दुईजना जवानको ज्यान गएको हो । दुई देशका सैनिक बीच भएको भिडन्तमा यो क्षति भएको हो ।
भारतीय सेना मु्ख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ । तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्ने केही पनि खुल्न सकेको छैन । यसबारेमा चिनियाँ अधिकारीले पनि कुनै जानकारी दिएका छैनन् । भारतीय सेना मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारी अहिले मामिला सुल्झाउन घटनास्थलमा बैठक गरिरहेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङले यस घटनाबारे प्रतिक्रिया दिँदै भारतीय सैनिकले सीमामा चिनियाँ सैनिकमाथि पहिले हमला गरेको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनिया विदेश मन्त्रालयले यस घटनाप्रति प्रतिक्रिया दिँदै भारतले एकतर्फी कुनै पनि कदम चाल्नु गलत हुने जनाएको छ । यसले स्थिती बिग्रन सक्ने चीनले चेतावनी दिएको छ । यस घटनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, तीनै सेना प्रमुख र विदेश मन्त्री एस जयशंकरसँग एक उच्चस्तरीय बैठक गरेका छन् ।
एजेन्सी