होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । नेपाली राजदूतावास कतारले कतारबाट नेपाल फर्किने नेपालीको सुची सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको भन्दै दूतावासले ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची सार्वजनिक गरेको हो ।
त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता परेका छन् ।
१६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरुबाट नेपालीहरु नेपाल जाने छन् । प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने उल्लेख छ ।