होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । छिमेकी देश भारत कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा पाँचौं स्थानमा उक्लिएको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले सम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६ सय २८ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा अहिलेसम्म दुई लाख ४१ हजार ३ सय १० जना संक्रमित फेला परेका छन् । त्यस्तै इटालीमा दुई लाख हजार ८ सय १ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९ सय ७१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ हजार ९ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २ सय ८७ जनाको मृत्यु भएको थियो ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ८२ हजार भन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने दुई हजार ९ सय ६९ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा ३० हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा २ यस ५१ जनाको मृत्यु भइसकेको छ । राजधानी दिल्लीमा पनि २७ हजार भन्दा धेरै मानिसमा कोराना भाइरसको संक्रमण देखिएको छ भने ७ सय ६१ जनाको मृत्यु भइसकेको छ ।
यस्तै अन्य प्रदेश बिहारमा अहिलेसम्म चार हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ३० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा पनि नौ हजार ७ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा २ सय ५७ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १९ हजार २ सय ९३ संक्रमित निको भएका छन् ।
एजेन्सी