ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चार करोड बालबालिकाले धुम्रपान सेवन गर्छन् – डब्लुएचओ

नेपालगाथा २०७७ जेठ १९ गते सोमबार ०८:३३:३५ मा प्रकाशित

काठमाडौँ । विश्वभर ४ करोड बालबालिकाले धुम्रपान सेवन गर्ने गरेको डब्लुएचओले जनाएको छ । विश्वभरका १३ वर्ष देखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका तथ्याङ्क विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको हो । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् ।

राष्ट्र संघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपान रहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी युवा जगतमा धुम्रपानको कुलत हटाउनुपर्नेमा जोड दिएको छ । ‘हाल १३–१५ वर्ष उमेर समूहका चार करोडभन्दा बढी युवाहरूले सूर्तीजन्य पदार्थको सेवन सुरू गरिसकेका छन,’ डब्लुएचओले बालबालिका तथा युवाहरूको कुलतबारे भनेको छ ।

डब्लुएचओले १३–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको बजारीकरणको बारेमा सचेतना दिन विशेष सुत्रको प्रयोग गरेको थियो ।
डब्लुएचओले भनेको छ, ‘सुर्तीजन्य उत्पादनको विज्ञापनका लागि सम्बन्धित उद्योगहरूले विश्वमा हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्चिने गरेको छ र निकोटिन तथा सूर्तीजन्य पदार्थको यो विज्ञापनको लक्षित समूह भनेको युवा जगत रहने गरेको भेटिएको छ । उद्योगहरूले प्रतिवर्ष धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण विभिन्न समस्या आई मृत्यु हुने आठ करोड व्यक्तिको वदलामा आफ्नो उत्पादनको प्रयोग गर्न युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गर्ने गरेका हुन्छन् ।’

कोभिड–१९ का कारण आएको विश्वव्यापी महामारीमा पनि सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती र निकोटिनजन्य अन्य पदार्थको उत्पादन गर्ने उद्योगले आफ्ना उत्पादनलाई बजारमा पठाउने क्रम जारी रहेको बताइएको छ ।

साथै यस्ता कुलतजन्य पदार्थका कारण मानिसको कोरोनाभाइरसविरूद्ध लड्ने शक्तिलाई कमी गर्ने विश्व स्वास्थ्य संगठनको दावी रहेको छ । ‘धुम्रपान वा सुर्ती सेवन गर्ने हरेक १० व्यक्तिमध्ये नौ जनाले आफु १८ वर्ष पुग्नु पहिले यो कुलतमा लाग्ने गरेकोले यस वर्गलाई लक्षित गरी जनचेतनामुलक कार्यक्रम गरी युवाहरूमा धुम्रपानविरोधी भावना जागृत गर्नु अनिवार्य भएको छ,’ विश्व स्वस्थ्य संगठनका जनस्वास्थ्य कार्यक्रमका निर्देशक रूइदिगर क्रेचले बताए ।

एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित खवर

Top