ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

‘चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो’ – ट्रम्प

नेपालगाथा २०७७ बैशाख १६ गते मंगलबार १२:४७:५१ मा प्रकाशित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले चाहेको अवस्थामा कोरोनाबाट विश्वलाई नै जोगाउन सक्थ्यो तर नजोगाएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन् ।

कोरोना भाइरसबारे चीनको कदम माथि अमेरिकाले निकै गम्भीर अनुसन्धान गरिरहेको ट्रम्पले दावी गरेका छन् । ‘हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,’ ट्रम्पले भने, ‘तुरुन्तै रोक्न सक्ने अवस्था थियो, चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो ।’ पहिलो पटक उहानमा कोरोना संक्रमण देखिएपछि ट्रम्पले चीन माथि लगातार भड्काउ टिप्पणी र आलोचना गरिरहेका छन् ।

कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले आफ्नै देशमा मानवीय हताहति भइरहँदा पनि सुरक्षाका लागि पहल गरेका थिएनन् । तर यतिखेर आएर ट्रम्पले महामारी नियन्त्रण गर्न पहिले नै आफुले अमेरिकाको सिमाना चीनका लागि बन्द गरिदिएको बताएका छन् ।

विशेषज्ञहरुले चाहिँ अमेरिकासँग महामारी नियन्त्रणका लागि पर्याप्त समय भएपनि ट्रम्प प्रशासनले नियन्त्रण गर्ने अवसर गुमाएको बताइरहेका छन् । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म १० लाख भन्दा बढी संक्रमित भेटिएका छन् । ती मध्ये ५० हजार बढिको मृत्यु भएको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top