होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । कोरोनाको संकट बेहोरी रहेको बेलायतले कोरोनाभाइरस विरूद्धको खोप मानिसहरुमा परीक्षण गर्ने भएको छ । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा बिहीबार देखि यो परीक्षण सुरू हुन लागेको जानकारी दिएको हो । बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मंगलबार कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन् । उनका अनुसार यो परीक्षणका लागि सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ ।
मन्त्री ह्यानककले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनमा खोपको विकासका लागि आशालाग्दो पहल भइरहेको बताए । जसमा तीव्र गतिमा प्रगतिसमेत भइरहेको उनको भनाइ थियो । कोरोनाविरूद्धको खोप बेलायत सरकारको उच्च प्राथमितामा रहेको बताउँदै उनले यसका लागि बेलायतले अन्य देशको तुलनामा धेरै रकम लगानी गरेको दाबी पनि गरे ।
बेलायतमा खोप तयार भएको अवस्थामा पहिलो प्राथमिकता आफ्नै देशभित्रलाई दिइनेसमेत मन्त्री ह्यानककले उल्लेख गरे । अक्सफोर्ड विश्वविद्यालयले आउँदो सेप्टेम्बरसम्म खोप तयार गरिसक्ने बताएको छ ।
विज्ञहरूले भने कोरोनाविरूद्धको खोप मानव परीक्षणको चरणसम्म आउनु सकारात्मक उपलब्धि भए पनि तत्काल आशा नै गरिहाल्ने आधार बनिनसकेको बताएका छन् । खोपको विकासका लागि महिनौं लाग्ने र परीक्षणका क्रममा सफल हुने सम्भावनाका साथै विफल हुने समेत उच्च जोखिम रहने उनीहरुको तर्क छ ।
यता, बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्रै ८ सय २८ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोना संक्रमण १ लाख २९ हजार ४४ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । एजेन्सी