होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । कोरानाका कारण दुवईमा एक नेपालीको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने देवदह–६ बुटवलकी ४० वर्षीय महिलाको मृत्यु भएको हो । महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन् । उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो । तर, रिपोर्ट आइसकेको थिएन ।
‘उहाँमा पहिले देखि नै मुटुको समस्या थियो । तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानु भएको थियो । अस्पतालले औषधि दिएको थियो । बिहीबार राति पनि एकदमै पेट दुखेको भन्नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो ।’
दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो । उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन् । पछिल्लो समयमा उनी वरदुबई स्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन् । यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म ११ जना पुगेको छ । तीमध्येदुई जनालाई निको भइसकेको जनाइएको छ ।