ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

७६ वर्षीय अमेरिकी पर्यटकसँगै भुटान पुग्यो कोरोना भाइरस

नेपालगाथा २०७६ फाल्गुण २३ गते शुक्रबार १८:०८:१४ मा प्रकाशित

थिम्पु । एकजना अमेरिकी पर्यटकमार्फत हिमाली राज्य भुटानमा पनि कोरोना भाइरस पुगेको छ। गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटानले सजगता अपनाएको छ। थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस भएको लक्षण भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ।  भारतको हुँदै थिम्पुको पारो विमानस्थलमा उत्रिएका ती अमेरिकीको स्वास्थ्य परीक्षणका क्रममा कोरोना भेटिएको थियो।

पर्यटकहरुबाट गतिलो आम्दानी गरिरहेको अर्ग्यानिक मुलुक भुटानमा कोरोना पसेपछि केही सार्वजनिक सेवा पनि बन्द गरिएको छ। 'अमेरिकी पर्यटकमा कोरोना भाइरस भेटिएपछि तत्काल लागू हुनेगरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाइएको छ', भुटानको स्वास्थ्यमन्त्रालयले शुक्रबार भनेको छ। कोरोना भेटिएका विरामीको अवस्था हेरेर यो निर्णयमा दुई सातापछि पुनर्विचार गरिने मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भेटिएसँगै थिम्पुका केही विद्यालय बन्द गरिदिएको छ। अर्कातिर सभा, गोष्ठी जस्ता भिडभाडयुक्त कार्यक्रम पनि तत्काललाई रोक्न निर्देशन दिएको छ।

सरकारले भारतबाट छिरेका ती अमेरिकीसहित उनको सम्पर्कका आएका अन्य २१ जनालाई क्‍वारेन्टाइनमा पठाएको छ।  भारतमा मात्रै शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ३१ पुगिसकेको छ। पछिल्लो पटक मलेसिया घुमेर आएका दिल्ली निवासी एक युवकमा कोरोनाको भाइरस भेटिएको हो।  शुक्रबारसम्म विश्‍वभर कोरोना संक्रमितको संख्या ९८ हजार पुगिसकेको छ। त्यस्तै मृत्यु हुनेको संख्या ३३ सय पुगेको छ। जसमा सबैभन्दा धेरैले चीनमा ज्यान गुमाएका छन्। त्यसपछि इरान र इटालीमा धेरै ज्यान गुमाइसकेका छन्। कोरोना अहिलेसम्म विश्‍वका ८८ देशमा पुगिसकेको छ। एजेन्सी  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top