होमपेज / अन्तराष्ट्रिय
कोरोना भाइरसको उद्गमथलो चीनमा वायु प्रदुषणको मात्रा ह्वात्तै घटेको छ। भू–उपग्रह (स्याटेलाइट) बाट खिचिएका तस्बिरहरुमा चीनको आकाशमाथि प्रदुषित हावाको तह नाटकीय रुपमा घटेको देखिएको हो। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सन् २०१९ को पहिलो दुई महिना र कोरोना भाइरस फैलिएको २०२० को पहिलो दुई महिनामा अन्तरिक्षबाट खिचिएका तस्बिरहरु सार्वजनिक गर्दै चीनमा प्रदुषणको मात्रा निकै घटेको देखिएको जानकारी दिएको छ। कोरोना विपत्तिका कारण आर्थिक गतिविधी सुस्ताउँदा यतिखेर चीनमा उद्योग र कलकारखानाहरु बन्द गरिएका छन्। सवारीसाधन सञ्चालनमा पनि निकै कडाई गरिएको छ।
कोरोनाको उद्गमस्थल हुबेइको उहान शहरलाई त शील नै गरिएको छ। कैयौं बसोबास क्षेत्रमा कोरोना फैलने त्रासले मानिसहरुलाई घरबाट बाहिर निस्कन दिइएको छैन। मानवीय गतिविधी नै कम भएपछि प्रदुषण घटेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। नासाले सार्वजनिक गरेको नक्सामा यो बर्ष नाइट्रोजन डाइअक्साइडको मात्रा पनि घटेको देखिएको छ। कोरोना भाइरस विपत्तीका कारण चीनका अधिकांश उत्पादकहरुले यतिखेर कलकारखानाहरु बन्द गरेका छन्। यो इतिहासमै एकैसाथ सबैभन्दा धेरै उद्योगहरु बन्द गरिएको पहिलो घटना हो। अहिलेसम्म चीनमा करिब ८० हजारभन्दा बढी कोरोना संक्रमण समस्या देखिइसकेको छ। महामारीको रुप लिएको यो भाइरस ५० भन्दा बढी मुलुकमा फैलिइसकेको छ। एजेन्सी ।